ताजा खबर

ताप्लेजुङमा खर्च भएन गरिबी निवारणको रकम,हाटबजार सार्ने योजनाले समस्या

RadioTaplajung

ताप्लेजुङमा खर्च भएन गरिबी निवारणको रकम,हाटबजार सार्ने योजनाले समस्या
आनन्द गौतम,ताप्लेजुङ । फुङलिङ नगरपालिका १० फुरुम्बुकी तुलसा थापाले सामुदायिक विकासका लागि बैकल्पिक समूहलाई बैठकमा उपस्थित हुन निम्तो दिइन् । पाथीभरा सामुदायिक समूहका सदस्यले लिएको रकमको वार्षिक हिसाब गर्ने र पुनस् ऋण लगानी गर्ने उद्देश्यले बैठकमा निम्त्याइएको थियो ।

गरिबी निवारण कोषद्वारा सञ्चालित कार्यक्रमको नियमन यहाँ सामुदायिक विकासका लागि बैकल्पिक समूहले गर्दै आएको थियो । यसको संयोजन कार्यक्रम संयोजक हरि पौडलले गरेका थिए । तर, संस्थाले उपस्थिति जनाएन । कोषले गत चैतमै कार्यक्रम सकिएको जानकारी गराएपछि उपस्थिति नजनाएको पौडेलले बताए ।


साविकको वडा ५ का १७ घर आवद्ध यो समूहमा ७ लाख छ । यो गरिबी निवारण कोषले दिएको बिउ पुँजी र समूह सदस्यले मासिक रूपमा बचत गरेको रकम हो । समूहका सदस्यले थप १० प्रतीशत लगानी पनि गरेका छन् ।


लगानी र प्रतिफलको विषयमा छलफल गर्न, ऋण उठाउन र लगानी गर्न प्रत्येक महिना समूहको बैठक हुन्छ । संकलित रकम समूहको निर्णय अनुसार गाई, बाख्रा, सुँगुर जस्ता पशुुपालन, अलंैची, चिराइतो जस्ता कृषि उपजमा लगानी गरिन्छ ।


मासिक वैठकमा ऋण खाने सदस्यले ब्याज र वचत रकम अनिवार्य जम्मा गर्ने नियम समूहले बनाएको छ । साँवा रकम भने वर्षमा एकपटक हिसाब हुन्छ । समूहका सदस्यको लगानीअनुसार प्रत्येक सदस्यले ५ देखि ५० हजारसम्म ऋण पाउँछन् । वडाभरिमा यस्ता १९ वटा समूह छन् । फुरुम्वुजस्ता साविकका ४० वटा गाविसमा यो कार्यक्रमअन्तर्गतको रकम परिचालन गरिएको छ । कोषका केन्द्रीय उपाध्यक्ष वाईवी थापालाई असार २१ गते गराइएको जानकारीअनुसार २३ करोड समुदायसँग छ । यो रकम अहिले अलपत्र जस्तै छ ।
बैकल्पिक समूहजस्तै कुनै पनि समूह वार्षिक हिसावका लागि समूहमा गएका छैनन् । फुरुम्बुजस्तो इमान्दारिता देखाएर धेरै समूहले खवर पनि गरेका छैनन् । जिल्लामै कार्यक्रम नियमित नभएको जानकारी पाएपछि रकम चलाउनेहरूले यसलाई कम वास्ता गर्न थालेका छन् । कोषले गत चैतदेखि कार्यक्रम नथपिने जानकारी गराएपछि नियमित गतिविधि बन्द भएको छ ।


जिल्लामा सुरुका केही वर्ष आठ र पछिल्ला वर्ष पाँचवटा गैरसरकारी संस्थामार्फत कार्यक्रम गरिएको थियो । आयआर्जन र भौतिक पूर्वाधार गरी दुई विधामा कार्यक्रम गरेको कोषले दलित वा महिलाको नेतृत्वमा समूह गठन गर्न लगाएको थियो ।


समूहमा रहेको रकमको विवरण सहितको जानकारी स्थानीय सरकारलाई गराउने तयारी गैरसरकारी संस्थाले गरेका छन् । उनीहरूले बिनाधितो र समुदायको सर्वसहमतिले निर्णय गरेर रकम परिचालन भएकाले यसलाई सहकारीमा रूपान्तरण गर्न कोषलाई प्रस्ताव गरेका छन् । सीपमूलक र आयमूलक व्यवसायमा लगानी हुँदा सीप र आम्दानी दुवै बृद्धि भएकाले सके संस्थामार्फत नसके स्थानीय सरकारले निरन्तरता दिनुपर्ने माग गैरसरकारी संस्थाको छ । तर स्थानीय सरकारले भने यसमा खासै चासो देखाएका छैनन् । महिला उद्यमी संघका कार्यक्रम संयोजक किरण पौडेलले भने, ‘हामीले गाउँपालिकालाई जानकारी गराएका हौं तर उहाँहरूले कर्मचारी नभएर गाउँपालिका चलाउन त धौधौ परिरहेको छ भनेर खासै वास्ता
गर्नु भएन ।’


प्रत्येक समूहमा कर्मचारी नपुगे समूहमा परिचालन गरेको ऋण उठाउन भने कठिन हुने किरण बताउँछन् । कर्मचारीले निकै ताकेता नगरे पहुँच हुनेले विभिन्न बहाना बनाएर नतिर्न खोज्ने जस्ता गतिविधि गर्नेगरेको उनको दाबी छ ।


कार्यक्रम चलाएका संस्थाले घुम्ती कोषको रकमलाई सहकारीमा परिणत गर्न, स्थानीय तहमा रहेका पशु बिमासम्बन्धी सरोकारवाला निकायहरूसँग समन्वय गरी पशु बिमाको व्यवस्थापन गर्न, घुम्ती कोषका लागि कर्मचारी परिचालन गर्न सुझाएका छन् ।


यसलाई संकलन र व्यवस्थापन नगरे समुदायमा द्वन्द्व निम्तने खतरा रहेको एक सदस्यले बताए । समूह निष्किय भएपछि रकम संकलन नहुने र उसले यति र मैले यति भनेर रकमको विषयमा विवाद हुन सक्ने सामाजिक संस्थाको आशंका छ ।


ताप्लेजुङमा मात्रै नभएर पाँचथरमा पनि १६ करोड समुदायमा अलपत्र परेको छ । कोषले कर्मचारीलाई पछिल्लो तीन महिनाको तलव पनि अहिलेसम्म नदिएको र कार्यक्रमको विषयमा पनि ठोस निर्णय नदिएका कारण अलपत्र परेको सामाजिक संस्थाहरूले जनाएका छन् ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,