ताजा खबर

चक्र बाँस्तोला: अडान भएका नेता

RadioTaplajung

चक्र बाँस्तोला: अडान भएका नेता
असोज २८ गते । राजनीति सिधा रेखाबाट चल्दैन भन्ने भनाइ कांग्रेस नेता चक्र बाँस्तोलाको हकमा पनि लागू हुन्छ । ०२६ सालतिर अध्ययनका लागि उनी भारतको वनारस पुगे । त्यहाँ उनको भेट प्रदीप गिरीसँग भयो । प्रदीप र उनी बनारस हिन्द विश्वविद्यालयका ‘क्लास’ मेट  हुन् ।
गिरीकै पदचाप पछ्याउँदै उनको सम्पर्क बीपी कोइरालासँग हुन पुग्यो। राजनीतिमा रस पस्दै थियो, पछि बीपीका भान्जी शैलजा आचार्यकी बहिनी मधुसँग बिहे भयो। राजनीतिक माहोलले झनै तान्न थाल्यो। ०२८ सालमा कांग्रेसले सशस्त्र क्रान्तिको घोषणा गर्‍यो। तर, क्रान्ति अघि बढाउन पार्टीसँग आर्थिक अभाव थियो। त्यही बेला नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर उड्न लागेको विमान अपहरणको योजना बन्यो। त्यसको योजनाकार र अपहरणमा आफैं संलग्न थिए, दुर्गा सुवेदी। सुवेदीका अनुसार बाँस्तोलालाई अपहरणबाट लुटिएको पैसा सुरक्षित राख्न र गाडीको बन्दोबस्त गर्ने जिम्मेवारी गिरिजाप्रसाद कोइरालाले दिएका रहेछन्। ‘मलाई बाँस्तोलाले यस्तो जिम्मेवारी लिनु भएको छ भन्ने पूर्व जानकारी थिएन, पछि मात्रै थाहा भएको हो’ सुवेदी सम्झन्छन्, ‘त्यही काण्डमा उहाँमाथि भारत सरकारले मुद्दा चलायो। पक्राउ पर्नु भयो। विहारको पुर्निया जेलमा ६ महिना बसेर निस्कनु भयो।’

जेलबाट निस्के पनि मुद्दा फिर्ता भएन। ०४८ सालको आम निर्वाचनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बने। बाँस्तोलाले चुनाव हारेका थिए। अनि उनलाई नेपालका लागि भारतीय राजदूत बनाइयो। विमान अपहरण काण्डको मुद्दा कायम रहँदारहँदै राजदूत बनाएको भनेर भारतीय पक्षबाट असन्तुष्टि प्रकट भयो। ‘मुद्दा भएको मान्छेलाई कसरी राजदूत बनाउने भन्ने प्रश्न उठ्न थाल्यो। गिरिजाबाबुले विमान अपहरणमा मेरै संलग्नता थियो। म प्रधानमन्त्री छु। भारत भ्रमणमै आउँदै छु। कि मलाई पनि मुद्दा लगाउनु पऱ्यो भन्ने भनाइ राखेपछि त्यो मुद्दा खारेज भयो’ कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य सम्झन्छन्।

कोइराला परिवारसँगको सम्बन्धमा पनि उनको उत्तरचढाब रह्यो। सुरुआती समयमा नाताले कोइराला परिवारसँग निकटता बढे पनि उनको बौद्धिक क्षमता र तर्कप्रति बीपीसमेत प्रभावित थिए। उनले आफ्नै आत्मवृत्तान्तमा त्यसबारे उल्लेख गरेका छन् । ‘नाताको भन्दा पनि बौद्धिक कार्यकर्ताको रुपमा उहाँ परिचित हुनुहुन्थ्यो’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन, ‘बीपी र जीपीसँग जस्तो सुकै विषयमा पनि राय बझाउन सक्ने बौद्धिक क्षमता भएको थोरै नेतामा बाँस्तोलाजी पर्नुहुन्थ्यो।’

निर्वासनमा बस्दा कार्यकर्ता परिचालन गर्ने, तरुण पत्रिका निकाल्ने भूमिकामा समेत उनी देखिए। स्वदेशमा रहँदा ०४६ सालको आन्दोलनमा उनको अग्रणी भूमिका थियो। राजनीतिक दस्तावेज बनाउनेलगायत बौद्धिक कामको भूमिकामा रहेको आचार्य थप्छन्। ‘मैले उहाँलाई गणेशमानजीको निवास चाक्सीबारीमा ०४६ सालको जनआन्दोलनका लागि भएको राजनीतिक भेलाबाट चिनेको हुँ’ आचार्यले भने, ‘वामपन्थीसँग संयुक्त आन्दोलन गर्नेबारे छलफल चल्दै थियो। चक्रजी राजनीतिक दस्तावेज बनाउनेदेखि महत्वपूर्ण कागजात आदानप्रदान गर्ने मुख्य भूमिकामा देखिनुहुन्थ्यो, त्यसपछि नै मेरो उहाँसँगको निकटता बढेको हो।’

राजदूत नहुँदासम्म बाँस्तोलको सम्बन्ध बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद सबैसँग राम्रो थियो। ‘जब राजदूत बनेर जानु भयो त्यसपछि उहाँको झुकाव कोइराला परिवारप्रति देखियो’ सुवेदी भन्छन्, ‘यद्यपि उहाँ र्‍यासनल मान्छे हो। नबुझिकन, छलफल नगरी बोल्नु हुन्थेन। राजनीतिमा पनि उहाँको प्रवेश बुझेर नै भएको थियो।’

गिरिजाप्रसादले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने सुरुआती भूमिकामा बाँस्तोलालाई अघि सारेका थिए। दिल्लीमा पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको पहिलो भेटमा गिरिजाप्रसादले बाँस्तोलालाई साथमा लिएका थिए। त्यसपछि विस्तारै यो प्रकृयामा झापाकै कृष्णप्रसाद सिटौला ‘इन’ भए। सिटौला निरन्तर गिरिजाप्रसादको सबैभन्दा विश्वासी नेताको रुपमा रहे। तर, बाँस्तोला भने कोइराला परिवारबाटै टाढिंदै गए।

पूर्व महामन्त्रीसमेत रहेका सिटौला विचारमा प्रस्ट र दृढ भएको नेताको रुपमा बाँस्तोलालाई लिन्छन्। क्षमता हुँदाहुँदै पनि दृढ अडान र प्रस्टविचारकै कारण पार्टीभित्र सोचेभन्दा माथि आउन नसकेको कतिपय नेताहरुको बुझाई छ। यद्यपि उनी पार्टीमा केन्द्रीय सदस्य र ०५६ पछि परराष्ट्रमन्त्रीसमेत बने। ‘राष्ट्र र पार्टीसामु आएका कुनै पनि मुद्दामा उहाँ कहिल्यै अनिर्णयमा रहनु भएन’ सिटौला भन्छन्, ‘नेपालको लोकतान्त्रिक संघर्षमा उहाँको जीवनशैली अनुकरणीय छ।’

सक्रिय राजनीतिका पछिल्ला समय गिरिजाप्रसाद र सुशील कोइरालाको कार्यशैलीलाई लिएर बाँस्तोलामा असन्तुष्टि चुलिएको थियो। पार्टीमा विचलन आएको, विचारले भन्दा गुटले प्रधानता पाएको भन्दै उनले १२ औं महाधिवेशनमा कोइराला परिवारको साथ छाडे, जतिबेला सुशील सभापतिका प्रत्यासीसमेत थिए। उनले सुशीललाई सघाएनन्। त्यतिबेलै तेस्रो धारको रुपमा जन्मिएको भीमबहादुर तामाङको नेतृत्वमा गठित वैचारिक समूहतिर उनी जोडिन पुगे। उक्त समूहबाट सभापतिमा तामाङ ९तामाङको केही वर्षअघि निधन भइसकेको छ० महामन्त्रीमा नरहरि आचार्य र केन्द्रीय सदस्यमा उनीसहितको प्यानल थियो। वैचारिक समूहबाट उठेका कसैले जितेनन्। केन्द्रीय सदस्यमै उनी पराजित भए।

‘हामीले त त्यतिबेला सभापति नै उठाउन खोजेका थियौं, तर उहाँले तपाईंहरुलाई सहयोग गर्छु म उठ्दिनँ भन्नु भयो र सहयोग पूर्णरुपमा वैचारिक समूहलाई नै गर्नुभयो’ पार्टी केन्द्रीय सदस्य आचार्यले थपे, ‘गिरिजाप्रसाद सभापति र सुशील कोइराला कार्यवाहक सभापति हुँदाका क्षण पार्टी चलिरहेको छैन भन्ने बुझाई उहाँको थियो। तर, झन्डा बोकेरै असन्तोषको स्वर बाहिर ल्याउने काम भने कहिल्यै गर्नुभएन।’

झापा बुधबारेका मध्यम जमिनदार कृष्णलालका कान्छा छोरा थिए, चक्र। उनले वनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेका थिए। चार दशक उत्तरचढाबपूर्ण सक्रिय राजनीति गरेपनि पछिल्ला अवधि उनी गुमनाम भए। ०६९ पुस १४ गते मष्तिकघात भएदेखि नै उनको राजनीतिक यात्रामा पूर्णविराम लागेको थियो। शनिबारबाट भने सदाका लागि संसारिक दुनियाँबाट बिदा भए। ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्