ताजा खबर

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

RadioTaplajung

 

फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गर्ने गरी विधान संशोधन पारित गरेको हो ।

अधिवेशन प्रतिनिधिका सुझाव सुनिसकेपछि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा भएको छलफलले तत्कालका लागि प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने निर्णयमा पुगेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हलमा जानकारी गराए ।


‘अब प्रत्यक्ष निर्वाचनबाट कमिटी र नेतृत्व चयनको बाटोमा जानुपर्छ । हिजो युद्धको जस्तो सबैको मूल्यांकन गरेर जाने सम्भावना छैन’, प्रचण्डले हलमा भने, ‘महाधिवेशनबाट कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीमा जानेमा आम रूपमा विमति नहुने ठाउँमा पुगेका छौं ।’

उनले यो निर्णय पार्टी जीवनको महत्वपूर्ण मानक भएको भन्दै यसले पार्टीमा विद्यमान समस्या हल गर्ने बताए ।


‘हामीले केन्द्रीयता भन्दा पनि सबै तहको जनवादबाट कमिटी निर्वाचित गर्ने महत्वपूर्ण निर्णय गरेका छौं । त्यो कमिटीले प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्छ । यसले अहिलेको समस्या हल हुन्छ’, अधिवेशन हलमा प्रतिनिधिको जवाफ दिने क्रममा प्रचण्डले भने, ‘यसमा थप छलफल गर्न सकिन्छ । यो नै अन्तिम भन्ने होइन । हतारमा भन्दा अझै वैचारिक हिसाबले पनि सोच्नुपर्छ । यसले मूलभूत समस्या समाधान गर्छ भन्ने ठाउँमा हामी पुगेका छौं ।’

माओवादीले केन्द्रीय समिति निर्वाचनबाट चयन गरे पनि पदाधिकारी भने केन्द्रीय समिति भित्रबाट चयन गर्नेछ । अध्यक्ष प्रचण्डले पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै चयन गर्नुपर्छ भन्ने बेला भइ नसकेको बताए ।

यसअघि उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको विधान मस्यौदा कार्यदलले प्रस्ताव गरेको विधानमा निर्वाचन प्रणालीबारे स्पष्ट उल्लेख थिएन ।

कार्यदलका सदस्य समेत रहेका पार्टी उपमहासचिव जनार्दन शर्माले ९ बुँदे पूरक प्रस्ताव राख्दै प्रत्यक्ष निर्वाचनबाट सबै तहको नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव राखेका थिए । अधिवेशन हलमा अध्यक्ष प्रचण्डले पनि शर्माको उक्त प्रस्तावलाई प्रवेश गराएका थिए ।

समूहगत छलफलका क्रममा अधिकांश प्रतिनिधिले कमिटीसँगै नेतृत्व पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनुपर्ने सुझाव राखेका थिए । समूहगत छलफलबाट आएका सझुावपछि बसेको पदाधिकारी बैठकले प्रत्यक्ष निर्वाचन प्रणाली स्वीकार गर्ने, तर पदाधिकारीलाई निर्वाचित कमिटीको चुनावबाट छान्ने निर्णय गरेको हो ।

अधिवेशनको बीचमा बसेको पदाधिकारी बैठकमा उपमहासचिव शर्मा र हरिबोल गजुरेलले मात्रै धारणा राखेका थिए ।

‘शर्माले आफ्नो पूरक प्रस्ताव अनुरुप सबै तहको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनुपर्ने मत दोहोर्‍याउनुभयो । गजुरेलजीले त्यसमा फरक मत राख्दै निर्वाचित र मूल्यांकनसहितको मिश्रित प्रणालीबाट जानुपर्ने धारणा राख्नुभयो’, बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘यी विषयमा थप छलफल गर्दै जाने, तर अहिले सिंगो हलले नै एकै प्रकारको धारणा राखेकाले प्रत्यक्ष निर्वाचन प्रणालीबाट केन्द्रीय समिति र त्यसले पदाधिकारी छनौट गरौं भन्ने निष्कर्षमा पुगिएको हो ।’

पदाधिकारी बैठकमा सहमति भएर आए पनि अध्यक्ष प्रण्चडले उक्त निर्णय सुनाउँदै गर्दा हलबाट ‘पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै आउनुपर्ने’ भन्दै विरोध भएको थियो । प्रचण्डले आफूलाई ‘सबै निर्णय राख्न दिन’ अनुरोध गरेपछि हल शान्त भएको थियो ।

प्रचण्डले पदाधिकारी बैठकले सुझावहरू समेटेर गरेको निर्णय राखिसकेपछि केन्द्रीय सदस्य सरल सहयात्री र दलजित श्रीपाइलीले विरोध गरेका थिए ।

‘यो भनेवापत मैले जे भोग्नु परे पनि परोस् । अहिले भनेजस्तै विधान पारित हुने हो भने जनवादको उपहास गर्न खोजिएको हो’, बाग्मती प्रदेशका अध्यक्ष सहयात्रीले भनेका थिए, ‘सिंगो हलले पदाधिकारीसहित सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्ने माग राखेको छ । पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने व्यवस्था यही हलबाट पारित गरेर जानुपर्छ ।’

उनले हरेकपटक अर्को अधिवेशनले पारित गर्छ भन्दाभन्दै २५ वर्ष बितिसकेको भन्दै पदाधिकारीले पुरानै मोडल लागू गर्न खोजेको भए खुलेर भन्नुपर्ने, तर अल्झाउन नमिल्ने धारणा राखेका थिए ।

श्रीपाइलीले पनि त्यसमा थप्दै विधानमा दलितलाई विशेषाधिकार दिने विषय पनि उल्लेख गर्नुपर्ने धारणा राखे । हलबाट महाधिवेशन प्रतिनिधिको प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्नुपर्ने आवाज उठेपछि प्रचण्डले आक्रोशित शैलीमा जवाफ दिएका थिए ।

‘यो ९विधान० आजै लागू हुने होइन, विशेष महाधिवेशनबाट हुने हो भनिसकेँ । अहिलेका लागि प्रत्यक्ष निर्वाचित केन्द्रीय कमिटी भन्नु नै ठूलो कदम हो । मैले नै प्रत्यक्ष निर्वाचन पद्दतिबाटै पार्टीलाई गति दिन सकिन्छ भनेको हो’, प्रचण्डले जवाफ दिने क्रममा भने, ‘म अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा छु । आफू बिदा हुनुभन्दा अगाडि कसरी साथीहरूलाई जिम्मा दिने भन्ने मैले पनि सोचेको हुँला नि त १ अहिले नै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट भनेर जाने हो भने ढोका खुलेपछि महाधिवेशनसम्म पार्टीभित्र के हुन्छ भनेर सोच्नुभएको छ रु’

प्रचण्डले आफूले विधान अधिवेशन पनि गर्दैन भन्ने हल्ला चलेकोबारे जानकार रहेको भन्दै खण्डन समेत गरे । पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था गर्नुपर्ने विषयमा आवाज चर्किएपछि प्रचण्डले ‘कोही पनि नडराएको, तर पार्टीकै हितमा विस्तारै ढोका खोल्नका लागि यो निर्णय गरेको’ भनेर झोक्किएका थिए ।

‘पदाधिकारी प्रत्यक्ष हुँदा कोही डराउनेवाला छैन, म त झन् छँदै छैन’, प्रचण्डले हलमा भनेका थिए, ‘म तपाईंहरूको अगाडि उभिएर भन्न सक्छु । गएको ३५ वर्षको इतिहास, जनयुद्धको १० वर्षको तयारी, योजना र नेतृत्व, शान्ति र संविधान, गणतन्त्र, अहिले फेरि अभियान, सरकारको नेतृत्व, सुशासन यी सबै अगाडि छन् ।’

बोल्दाबोल्दै शान्त भएका प्रचण्डले अगाडि भने, ‘त्यसैले गर्दा म छोड्छु भन्दा पनि तपाईंहरूले दिनुहुन्न भन्ने मलाई डर छ । तपाईंहरूले आलोचना गर्दागर्दै पनि मलाई छोड्न दिइराख्नुभएको छैन ।’

अन्तिममा उनले प्रतिनिधिले हलमा बुझाएका सम्पूर्ण सुझाव सुरक्षित राखेको र कसले के सुझाव दिएको रहेछ भनेर हेर्ने बताए ।

कमिटीका आकार घटाउने

माओवादीले हाल कायम रहेको मस्यौदा कार्यदलले प्रस्ताव गरेको भन्दा फरक अंकको केन्द्रीय समितिको संख्या पारित गरेको छ । कार्यदलले मस्यौदामा केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय बनाउनुपर्ने प्रस्ताव गरेको थियो ।

अधिवेशन हलमा पनि अधिकांशले कमिटीका आकार घटाएर चुस्त बनाउनुपर्ने सुझाव राखेका थिए । सोही अनुसार माओवादीले १९९ जनाको केन्द्रीय कमिटी बनाउने व्यवस्था विधानमा गरेको छ ।

‘धेरै सानो बनाउने कुरा भएन, ठूलो त बनाउनै हुँदैन भनेर हामीले १९९ जनाको केन्द्रीय समिति बनाउन उचित हुन्छ भन्ने ठाउँमा पुगेका छौं’, प्रचण्डले हलमा भने, ‘त्यसो हुँदा १६५ वटा निर्वाचन क्षेत्रलाई पनि कभर गर्न सकिन्छ र अरू पनि हेर्न सकिन्छ भन्ने सोचिएको छ ।’

यस्तै माओवादीले केन्द्रीय समितिको एक तिहाइ संख्याको पोलिटब्यूरो र ११ जनाको कार्यालय समिति बनाउने भएको छ । पदाधिकारी र स्थायी समितिको काम सोही कार्यालयले नै गर्ने भएको छ ।

यस्तै अहिले भएको २२ जनाको पदाधिकारीलाई नै केन्द्रीय कार्यालय मान्ने निर्णय अधिवेशन हलमा प्रचण्डले सुनाए । यस्तै माओवादीले अब माथिल्लो कमिटीको अधिवेशन गरेर तल्लो कमिटीमा अधिवेशन गर्ने भएको छ । यसअघि तल्ला तहका कमिटीका अधिवेशन पहिले र माथिल्ला कमिटीका अधिवेशन पछाडि गर्दै आएको माओवादीले केन्द्रीय कमिटीको आकार घटाएसँगै यस्तो निर्णय गरेको हो ।

‘विगतमा तलबाट अधिवेशन गर्दै आउँदा अप्ठेरो पर्दै आएको हो । तल भएका नेता माथि आउनको निम्ति थिग्रिदै जाने र असाध्यै ठूलो दबाब केन्द्रीय समिति र नेतृत्वलाई पर्ने गरेको थियो’, प्रचण्डले हलमा भने, ‘अब हामीले पहिले महाधिवेशन प्रतिनिधि चुनेपछि केन्द्रीय महाधिवेशनबाट केन्द्रीय समिति चुन्छौं । त्यसपछि हजारौं कार्यकर्ता प्रदेश, जिल्ला, पालिका र वडातिर फर्किने उपक्रम सुरु हुन्छ भन्ने लागेको छ ।’

नाम र चुनाव चिह्न परिवर्तन नगर्ने

अधिवेशनमा प्रतिनिधिबाट नाम र चुनाव चिह्न समेत परिवर्तन गर्नुपर्ने आवाज उठे पनि माओवादीले यसलाई तत्कालका लागि रोकेको छ ।

मस्यौदा विधानमा नाम र चुनाव चिह्नका बारेमा कुनै प्रस्ताव गरिएको थिएन । मस्यौदामा फरक मत राखेका उपमहासचिव शर्माले भने नाम पनि परिवर्तन गरेर नेकपा ९समाजवादी० राख्नु पर्ने प्रस्ताव गरेका थिए ।

जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले विभिन्न समयमा नाम परिवर्तन गरेको उदाहरण दिएर यसमा संकुचित नभएको, तर जतिबेला पनि परिवर्तन गर्न नहुने निर्णय भएको बताएका थिए ।

‘विगतमा कयौं नाम परिवर्तन गरेरै आएका हौं । चुनाव चिह्न पनि फेर्नै नसकिने होइन । तर फेर्न मिल्ने विषय हुन् भन्दैमा जति बेला मन लाग्यो त्यतिबेला, जसरी मन लाग्यो त्यसरी फेर्नु पनि उचित हुँदैन’, जवाफमा प्रचण्डले भने, ‘खास सन्दर्भ, मोड र परिस्थितिमा निर्णय लिनु बढी उचित हुन्छ ।’

उनले केन्द्रीय कार्यालयको बैठकले अरू कम्युनिष्टसँग एकताबारे छलफल गरिरहेको र यस विषयमा टुंगो लागेपछि यस विषयमा सोच्न सकिने बताए । ‘नेकपा चाहिँ छोड्न सकिँदैन, तर नामकै कारण पार्टी एकता रोक्ने भन्ने हुँदैन’, उनले भने ।

उनले नामसँग पार्टीको पहिचान र इतिहास जोडिएको भन्दै अधिवेशन हलबाटै नाम फेर्न नसकिने बताएका थिए ।

उनले चुनाव चिह्नबाट पनि पहिले जस्तो अप्ठेरो स्थिति नबनेको भन्दै यसलाई आवश्यकता अनुसार परिवर्तन गर्न सकिने बताए ।

‘चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा भन्दा गीत बनाउने साथीलाई पनि गाह्रो, नारा लाउने बेला पनि गाह्रो’, उनले भने, ‘यसले हामीलाई धेरै ठूलो क्षति भयो । एकपटक त हाम्रै चुनाव चिह्नका कारण अर्को पार्टीले ७ सिट जित्यो । अहिले जनताले पनि बुझे, पहिलो जस्तो खतरा छैन ।’

तस्वीरहरु रासस

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्

RadioTaplajung

ललिता निवास जग्गा हिनामिनाको फैसला विहीबार हुने

  फागुन ३ गते । बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ । विशेष अदालतले हिजै फैसला सुनाउने