ताजा खबर

पशुपालनले उकास्दै जिवनस्तर

RadioTaplajung

 सीताराम गुरागाई । 
फक्ताङलुङ गाउँपालिका–४ खुपालका सार्के तामाङको आफनो नाममा जमिन छैन । वर्षौदेखि साहुको जग्गा अधियाँ कमाएर बसेका छन् । सात जनाको परिवार चलाउन उक्त कमाईले नपुग्ने हुँदा नजिकैका साना बजारहरु थिवा, छिरुवा र तापेथोकबाट खाद्यान्न लगायतका सामग्रिहरु गाउँमा आसार्ने काम समेत गर्छन् । परिवारका कोहि साहुको बारीमा व्यस्त हुन्छन् त कोहि भारी बोक्न । बिहान सबेरै छुटेका एक अर्काको भेट बेलुका अबेला मात्रै हुन्छ । सार्केको मात्रै होइन गाउँका सबै आठ तामाङ परिवारको दैनिकी यस्तै हो । ‘आफ्नो घर जग्गा छैन,’ सार्के भन्छन्,‘अर्काको कमाउनु छ, बिहानदेखि बेलुकासम्म परिश्रम नगरे खानै धौधौ हुन्छ ।’ तर, पछिल्लो समय दुर्गम गाउँका तामाङ परिवारको दैनिकी केहि सहज बन्दै गएको छ । सबै कृषकहरु मिलेर समुह गठन गरी नियमित बैठक बस्ने, छलफल गर्ने र गरिबी निवारण कोषबाट सहयोग लिएर पशुपालन समेत गर्न थालेका छन् । गाउँ नजिकै सडक आइपुगेपछि भारी बोक्ने काम कम हुदै गएकाले खुपालवासी जडिबुटि खेति र बाख्रापालनमा लागेका छन् । सार्केकै छिमेकि विरबहादुरले दुई वर्ष अघि मात्रै चार वटा बाख्रा खरिद गरे । ‘२१ हजारमा चारै वटा ब्याउने बाख्रा खरिद गरें,’ विरबहदुर भन्छन्,‘सबैले जोर पाठा ब्याए, एक महिनाअघि ६ वटा पाठा बेचेर ३० हजारमा बिक्रि गरें ।’ आफैले गठन गरेको तिखाचुलि सामुदायिक संस्थाबाट ऋण लिएर सुरु गरेको र गोठमा अहिले पाठापाठी सहित २४ वटा बाख्रा रहेको तामाङ बताउँछन् । स्थानीय तहको निर्वाचन पछि गाउँमा चहल पहल समेत बढेकाले आफूहरुलाई हौसला मिलेको कृषकहरुको भनाई छ । ‘गाउँमै विभिन्न कार्यालयहरु खुल्न थाले, त्यहाँ कर्मचारी र बाहिरका मान्छेको आवत जावत पनि बढ्न थालेको छ,’सार्के तामाङ भन्छन्, ‘अब तरकारी खेति पनि सुरु गर्ने योजनामा छु ।’ गाउँपालिकाको केन्द्र तापेथोक पनि नजिकै पर्ने हुँदा बजारको समस्या नहुने उनको अनुमान छ । अहिले उनी हप्तामा तीन दिनसम्म मात्रै भारी बोक्न जान्छन् । पछिल्लो समय घर परिवार चलाउनको लागि पनि सहज हुँदै गएको छ । सार्केले छोराछोरी पनि विद्यालय पठाउन थालेका छन् । स्थानीयले गरिबी निवारण कोषको सहयोगमा तिखाचुली सामुदायिक संस्था गठन गरी ऋण लिएर केहि न केहि व्यावसाय सुरु गरेका हुन् । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् मार्फत् कोषले जिल्लाको विकट हिमाली गाउँहरुमा समूह स्थापना गरी अनुदान दिएर आयमूलक व्यवसायमा लाग्न प्रेरित गरेको हो । इखाबु, तापेथोक, लेलेप, ओलाङचुङगोला, याम्फुदिन र मामाङ्खे गाउँका २४ सय घरधुरी विभिन्न आयआर्जनका क्रियाकलापमा संलग्न रहेको कोषकी संयोजक रोशनी लिम्बुले बताइन् । सदरमुकाम फुङलिङबाट चार दिनको दुरीमा रहेको ओलाङचुङगोलाका बासिन्दाले चौरी खरिद गरेका छन् । यातायातको सुविधा नपुगेको गाउँमा खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीको ढुवानीको साधननै चौरी हो । यहाँका एक परिवारले पाँच वटा देखि १५ वटासम्म चौरी पालेको टासी शेर्पाले बताए । ‘कोष मार्फत् नै गठन भएका लालिगुराँस, रानीवन, दिकिछ्योर्लिङ र छेरछेन सामुदायिक संस्थाकै सहयोगमा गाउँलेले चौरी किन्नका साथै जडिबुटिको खेति सुरु गरेका छौं,’टासीले भने,‘गाउँपालिकाको केन्द्रबाट खाद्यान्न र निर्माण सामग्री ढुवानी तथा जडिबुटि तिब्बत निकासी गर्न चौरीकै प्रयोग हुन्छ ।’ संस्थामा आबद्ध भएपछि बिना धितो न्युन ब्याजदरमा  ऋण पाइने हुँदा सजिलो भएको शेर्पाको भनाई छ । घुम्तिकोषको अवधारणा मार्फत् गाउँमा अहिले चार करोड ७० लाख बढी रकम समुदायकै लगानीमा रहेको संयोजक लिम्बु बताउँछिन् । भौतिक पूर्वाधार अन्तर्गत दुई वटा लघु जलविद्युत् र एउटा खानेपानी योजनामा कोषले ७० लाख ७६ हजार तीन सय ७२ सहयोग गरेको छ । त्यस्तै सामासजिक परिचलन अन्तर्गत एक सय ६ वटा सामुदायीक संस्थाहरुको संस्थागत विकासमा सहयोग पुगेको लिम्बुले बताइन् । अब गरिबी निवारण कोषमार्फत् सञ्चालित संस्थाहरु र समुदायमा परिचालित रकम स्थानीय तहलाई जिम्मा दिने तयारी रहेको छ । 


 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक